काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘तेज’ ब्राण्डको तोरीको तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको खाद्य मापदण्डअनुसार गुणस्तर नपुगेको पाएपछि उक्त तेल जफत तथा फिर्ता गर्न आदेश दिएको हो ।
विभागका अनुसार रुपन्देहीको गुरुबानियामा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्राण्डको तोरी तेलमा समस्या देखिएको हो । २०८२ फागुन २८ गते उत्पादन भएको ‘ब्याच नं. २०’ को तेल परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नगरेको पाइएको विभागले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले उक्त ब्याचका सम्पूर्ण तेलहरू तत्काल बजारबाट फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।
त्यस्तै, ऐनको उपदफा (४) अनुसार सोही ब्याचको तेल बिक्री वितरण नगर्न र नगराउन समेत विभागले आदेश जारी गरेको छ ।
विभागले उपभोक्तालाई उक्त ब्याच नम्बरको तेल खरिद नगर्न तथा बिक्री भइरहेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।





