Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खाल्डोमा पुरिएकी ३१ दिनकी नवजात शिशु: बाबुले देखेपछि अस्पताल पुर्‍याए, चिकित्सकले मृत घोषणा गरे



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी नवजात शिशुलाई खाल्डोमा पुरिएको अवस्थामा उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।


प्रहरीका अनुसार सोही स्थानमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापाले आफ्नी छोरी प्रिन्सीका थापालाई करेसाबारीमा खाल्डो खनेर पुरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।


बिहीबार साँझ करिब ५ः३५ बजे भएको घटनामा शिशुका बुबा गोपाल थापाले खाल्डोमा पुरिएको अवस्थामा छोरीलाई देखेपछि तत्काल उद्धार गरी दुलेगौंडास्थित तनहुँ सेवा अस्पताल पुर्‍याएका थिए । तर अस्पताल पुग्नासाथ चिकित्सकले शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


अस्पतालबाट प्राप्त सूचनापछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोली घटनास्थल र अस्पताल पुगेको थियो । स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर भई हाल तनहुँमा बस्दै आएकी थापालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


मृतक शिशुको शव तनहुँ सेवा अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले मानसिक स्वास्थ्यसम्बन्धी औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom