काठमाडौं । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकलाई आगामी जुन ५ भित्र दरखास्त दिन आग्रह गरेको हो ।
मन्त्रालयले राजदूत नियुक्तिका लागि आवश्यक योग्यता, सर्त र कार्यक्षेत्रसम्बन्धी निर्देशिका समेत सार्वजनिक गरेको छ । राजदूत पदका लागि उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ । साथै, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार स्नातकोत्तर तहको शैक्षिक योग्यता तथा कूटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध वा सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । मन्त्रालयले प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट (स्क्रिनिङ) गरी मन्त्रिपरिषद्मा सिफारिस गर्ने जनाएको छ । त्यसपछि मन्त्रिपरिषद्ले योग्य उम्मेदवारको नाम राजदूत नियुक्तिका लागि सिफारिस गर्नेछ ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन र सम्बन्धित देशको स्वीकृतिपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ तथा त्यसमा भएका संशोधनअनुसार आवेदन आह्वान गरिएको स्पष्ट पारेको छ ।
यस्ता छन् योग्यता र सर्त
निर्देशिकाअनुसार राजदूत बन्न इच्छुक उम्मेदवारले कम्तीमा ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । उम्मेदवारले भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको तथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनुपर्नेछ ।
त्यस्तै, कुनै विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर वा ग्रीनकार्ड) नलिएको, नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे राम्रो ज्ञान भएको तथा अंग्रेजी भाषामा दक्षता भएको हुनुपर्नेछ ।
प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको तथा अन्तर्राष्ट्रिय वा विदेशी सहयोगमा सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने शर्त पनि राखिएको छ । यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए त्यस्तो पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका र प्रस्तावित देशको भाषा जान्ने उम्मेदवारलाई विशेष प्राथमिकता दिइने जनाएको छ ।
आवेदन कसरी दिने ?
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयमा उपलब्ध तोकिएको फाराम भरी विस्तृत व्यक्तिगत विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
मन्त्रालयले प्राप्त आवेदनमध्येबाट सर्टलिस्ट तयार गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन र सम्बन्धित देशबाट स्वीकृति प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूतको औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ ।





