Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

३१ दिनकी छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा आमा पक्राउ


तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी शिशुलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर भई हाल सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


प्रहरीका अनुसार थापाले आफ्नी ३१ दिनकी छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए । घटनाबारे थाहा पाएलगत्तै उनले शिशुलाई खाल्डोबाट बाहिर निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए ।


अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।


घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी थापाले ‘डिप्रेसन’ सम्बन्धी औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom