प्रहरीका अनुसार असार १ गते नारायणगढबाट ११ कक्षामा अध्ययनको तयारी गरिरहेका बालकलाई अपहरण गरिएको थियो। उनका बुवा नारायणगढमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका छन्।
छोरा अचानक सम्पर्कविहीन भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा जानकारी गराएको थियो। त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले नयाँ नम्बरबाट परिवारलाई आएको ह्वाट्सएप कलको आधारमा अपहरणकारीको खोजी थालेको थियो। अपहरणकारीले बालकको रिहाइका लागि २२ लाख रुपैयाँ फिरौती मागेका थिए।
प्रहरीले प्राविधिक अनुसन्धानका आधारमा अपहरणकारीसम्म पुग्दै मंगलबार साँझ काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा रहेको एक होटलबाट बालकको सकुशल उद्धार गरेको हो।
अनुसन्धानका क्रममा अपहरणमा संलग्न मुख्य व्यक्ति भारतको बिहार राज्यस्थित बेतिया निवासी १८ वर्षीय सुजित कुमार रहेको खुलेको छ। उनी र अपहरणमा परेका बालक पूर्वपरिचित रहेको प्रहरीले जनाएको छ। दुवै जना नारायणगढमा अध्ययनरत रहँदा कक्षा ७ र ८ मा सँगै पढेका थिए।
प्रहरीका अनुसार सुजितले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी भेट्न बोलाएका थिए। साथीलाई भेट्न पुगेका बालकलाई होटलमा केही समय राखेपछि अन्य व्यक्तिहरूसँग मिलेर काठमाडौं ल्याइएको अनुसन्धानबाट खुलेको छ।
घटनामा भारतबाट आएका अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको पाइएको छ। हालसम्म पाँच जना पक्राउ परिसकेका छन् भने एक जना युवक र गाडी चालक फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अपहरणकारीहरूले पूर्वयोजना अनुसार नेपाल आएर फिरौती असुल्ने उद्देश्यले घटना घटाएका थिए। उनीहरूले सीमावर्ती क्षेत्रबाट नेपाली सिमकार्ड खरिद गरी परिवारसँग सम्पर्क गरेका थिए।
उद्धार गरिएका बालकले आफूलाई लगातार धम्की दिइएको, रकम नआए हत्या गर्ने चेतावनी दिँदै चक्कु देखाएर मानसिक तथा शारीरिक यातना दिएको बयान दिएका छन्।
शौचालयबाट फ्याँकेको चिठीले उद्धारमा सहयोग
प्रहरीका अनुसार अपहरणकारीको नियन्त्रणमा रहेका बेला बालकले शौचालय जाने बहानामा एक कागजमा आफू अपहरणमा परेको विवरण, बुवाको नाम र सम्पर्क नम्बर लेखेर बाहिर फ्याँकेका थिए।
उक्त चिठी फेला पार्ने व्यक्तिले प्रहरी र परिवारलाई जानकारी दिएपछि अनुसन्धान टोलीलाई अपहरणस्थलसम्म पुग्न थप सहज भएको थियो। त्यसपछि प्रहरीले अपरेशन सञ्चालन गरी बालकको उद्धार गर्न सफल भएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





