चैत १८ गते – लमजुङ जिल्ला प्रहरी कार्यालयले बेंसीसहर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष खुशीजङ गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्य दुईजनामा बेंसीसहर वडा नं. ८ का विशाल अधिकारी र मोहन तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार आइतबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो। अभद्र व्यवहारको कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरू फरार रहेका थिए। आइतबार उनीहरू स्वयं प्रहरी कार्यालयमा पुगेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको डीएसपी बोहराले बताए। वडाध्यक्ष गुरुङविरुद्ध यसअघि पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो।





