बागलुङ, वैशाख १। आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका बागलुङका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङको आइतबार राति धवलागिरी प्रादेशिक अस्पतालमा निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार गुरुङले आइतबार साँझ ५ बजेतिर घर नजिकैको चौरमा पेट्रोल खन्याई शरीरमा आगो लगाएका थिए। कम्मरभन्दा माथिको भाग जलेको अवस्थामा उहाँलाई परिवारका सदस्यले देखेर तत्काल उद्धार गरेका थिए।
गम्भीर अवस्थामा रहेका गुरुङलाई धवलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको भए पनि राति १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शरीरका महत्वपूर्ण अंग जलेर गम्भीर चोट लागेकाले उहाँ बोल्न पनि सक्नुहुन्थेन।
प्रहरीले गुरुङको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको जानकारी दिएको छ। आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





