सोमबार दिउँसो बोङ्गादोभानबाट भएरकटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप तमानखोला गाउँपालिका–२ को कटेरीमा दुर्घटना भएको हो। जिप ब्रेक फेल भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएकामध्ये गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विकको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई टाउको र ढाडमा गम्भीर चोट लागेको जनाइएको छ।
अन्य घाइतेहरूमा जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, तमानखोला गाउँपालिका–१ का २९ वर्षीय सचिन विक, ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, २५ वर्षीया बसन्ती मगर, २७ वर्षीय सुशील रसाइली, १२ वर्षी मनी मगर, २० वर्षीया झरना गिरी, र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीय नविन मल्ल रहेका छन्।
उनीहरू सबैको हात, खुट्टा, टाउको तथा ढाडमा चोट लागेको छ। सबै घाइतेहरूको बागलुङस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।