पर्वत, वैशाख १। कालीगण्डकी नदीमा बगेर एक महिला बेपत्ता भएकी छन्। पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीमा नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न खोज्दा चिप्लिएर उनी नदीमा खसेकी हुन्।
बेपत्ता हुनेमा पर्वतको महाशिला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरामा बसोबास गर्दै आएकी ३५ वर्षीया विष्णु पन्त रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
उक्त घटनापछि पन्तको खोजी कार्य जारी रहेको छ। खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाबाट खटिएको टोलीले कालीगण्डकी नदीमा खोजी कार्य तीव्र बनाएको जनाएको छ।
प्रहरी टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ भने अझै तलतिर पनि खोजी जारी राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





