चैत २९ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ निवासी १८ वर्षीय रञ्जित बस्नेत रहेका छन्।
प्रहरीका अनुसार बस्नेत जडीबुटी क्षेत्रमा रहेको ट्राफिक बत्ती, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय तथा पार्किङ गरिएको सरकारी र निजी सवारीसाधनहरूमा तोडफोड र आगजनी गर्ने समूहमा संलग्न थिए।
उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान सीसीटिभी फुटेजमार्फत गरिँदै आएको र सोही आधारमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
तीनकुनेमा पूर्वराजाका समर्थकहरूको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो। त्यसयता प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्दै आएको छ।





