मंगलबार दिउँसो रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिस साहको निर्माणाधीन कृषि सडक छेउमा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार, दुवै बालक घरबाट निस्किएपछि अबेरसम्म फर्किन नआएपछि खोजी गरिएको थियो। त्यसक्रममा सडक छेउमा खनिएको खाल्डोमा पानीमा तैरिरहेको अवस्थामा उनीहरू मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलको मुचुल्का उठाई दुवै बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
एकै परिवारका दुई सन्तानको निधन भएपछि गाउँमा शोकको माहोल छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।