पाल्पा, वैशाख २२ –
सशस्त्र प्रहरीले किराना सामानभित्र लुकाएर लैजाँदै गरेको १८ पोका अबैध लत्ताकपडासहितको एक ट्रक नियन्त्रणमा लिएको छ।
रुपन्देहीको भैरहवाबाट म्याग्दी जाँदै गरेको लु. २ ख ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ स्थित राईडाडा क्षेत्रमा आइतबार राति करिब १ः३० बजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपालका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
थापाका अनुसार ट्रक नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छन् भने ट्रकका सह–चालक, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास निवासी २० वर्षीय मिखिल पुनलाई पक्राउ गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा खटिएको पाल्पास्थित नं. ३५ गुल्मको टोलीले ट्रक रोकेर जाँच गर्दा किराना तथा खाद्यान्न सामानबीच १८ पोका लत्ताकपडा लुकाएर राखिएको फेला परेको हो।
जाँचका क्रममा किराना तथा खाद्यान्न सामग्रीको बिलबिजक भेटिए पनि लत्ताकपडासम्बन्धी कुनै पनि कागजात फेला नपरेको प्रहरीले जनाएको छ। लत्ताकपडा सिद्धार्थनगर–४, गल्लामण्डी भैरहवास्थित प्रतिक किराना स्टोरबाट म्याग्दीको बेनीस्थित सम्झाना ट्रेडर्सको नाममा तयार पारिएको किराना सामानको बिलमा लुकाएर पठाइएको थियो।
हाल नियन्त्रणमा लिइएको ट्रक र सहचालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।