नदीजन्य पदार्थको उत्खनन तथा ओसार–पसार सम्बन्धी नियम उल्लङ्घन गरिएको सूचना प्राप्त भएपछि प्रहरी चौकी अर्जुनचौपारी तथा स्याङ्जाबाट खटिएको प्रहरी टोलीले दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। सम्बन्धित पालिकाहरूको समन्वयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन ती सवारीसाधनहरू पालिकामा बुझाइएको हो।
प्राप्त विवरणअनुसार, स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ४ स्थित खोलाको किनारबाट ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा गा.१च.३३११ नं.को JCB र ग.१त.५०२० नं.को ट्र्याक्टर फेला परेका थिए। यिनीहरूलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि अर्जुनचौपारी गाउँपालिका कार्यालय, स्याङ्जामा पठाइएको छ।
त्यसै गरी, स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका वडा नं. १३ स्थित दरौँखोलामा रहेको पुलबाट ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग.१त.५२२७ नं.को ट्र्याक्टर पनि फेला परेको हो। सो ट्र्याक्टरलाई नियन्त्रणमा लिएर पुतली बजार नगरपालिका कार्यालयमा बुझाइएको छ।
प्रहरी प्रशासनले यस्ता अवैध उत्खनन तथा ओसार–पसार कार्यविरुद्ध निगरानी थप कडा बनाएको जनाएको छ। वातावरणीय सन्तुलन र स्थानीय ढुङ्गा–बालुवा स्रोतको संरक्षणका लागि यस्ता क्रियाकलाप नियन्त्रण गर्नु आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ।