सप्तरी, जेठ ३ गते – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा चट्याङ लागेर एक सात वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तर प्रदेश, सामली जिल्ला केरना–८१ घर भई हाल सप्तरीमा बसोबास गर्दै आएकी जेनव खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शनिबार बिहान करिब साढे ५ बजे परेको चट्याङले गम्भीर घाइते भएकी जेनवलाई तत्काल छिन्नमस्ता अस्पताल पुर्याइएको भए पनि उपचार अघि नै उनको मृत्यु भएको हो। सोही समयमा अर्का सात वर्षीय बालक जुविर खान पनि चट्याङ लागेर घाइते भएका छन्।
प्रहरीका अनुसार मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगर क्षेत्रमा अस्थायी टहरा बनाएर बसिरहेका थिए। घाइते बालकको अवस्था सामान्य रहेको जनाइएको छ।