आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पौड्यालले २०५१ साल वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्म सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेका प्रमाण भेटिएको छ।
आय र व्ययको विवरण:
सो अवधिमा पौड्यालको कुल वैद्य आय (तलब, भत्ता, जग्गा बिक्री, विमा, कृषि, आदि) २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ मात्र देखिएको छ।
तर, उनीबाट घर निर्माण, जग्गा खरिद, सवारी साधन खरिद, रेष्टुरेन्टमा लगानी, सुन खरिद, शेयर खरिदजस्ता कार्यमा खर्च भएको कुल रकम ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ पुगेको आयोगले जनाएको छ।
कुल वैद्य आय र कुल व्ययको अन्तर निकाल्दा ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ बराबरको रकम गैरकानूनी रुपमा आर्जन गरिएको प्रमाणित भएको आयोगको भनाइ छ।
मुद्दाको दायरा श्रीमतीसम्म
आयोगले आरोपपत्रमा कुमार पौड्यालसँगै उनकी श्रीमती विष्णु मैया पौड्याललाई समेत प्रतिवादी बनाएको छ। गैरकानूनी ढंगले आर्जित सम्पत्ति श्रीमतीको नाममा राखिएको देखिएकोले प्रचलित कानुन अनुसार उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।
आयोगले मागदाबीमा सो गैरकानूनी सम्पत्तिको मूल्य बराबरको सम्पत्ति जफत गर्न विशेष अदालतसमक्ष माग राखेको छ।
यो घटनाले सरकारी सेवामा पारदर्शिता र उत्तरदायित्वको गम्भीर प्रश्न उठाएको छ भने अख्तियारले पछिल्ला दिनहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी कडा बनाएको संकेत पनि गरेको छ।