ब्राइटर खबर, वैशाख २८ – राजधानीको तीनकुने क्षेत्रमा चैत्र १५ गते भएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” नामक संस्थाले आयोजना गरेको प्रदर्शनका क्रममा उक्त घटना घटेको थियो।
जिल्ला मोरङ, विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय बस्नेतलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गरी गरिएको आगजनी र तोडफोडप्रति प्रहरीले गम्भीर ध्यान दिँदै अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। यसअघि पनि सो घटनामा संलग्न अन्य केही व्यक्तिहरू पक्राउ परिसकेका छन्।
काठमाडौं उपत्यकामा पछिल्ला समय यस्ता प्रकारका विरोध प्रदर्शन र हिंसात्मक गतिविधिमा संलग्न समूहहरूको गतिविधि बढ्न थालेको भन्दै सुरक्षा निकाय सतर्क बनेको छ।





