Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसइई नतिजा तयारी, उत्तरपुस्तिका परीक्षण राति अबेरसम्मै - Brighter Network


वैशाख २७, काठमाडौँ — करिब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ढिलो सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तरपुस्तिका परीक्षण कार्यमा राष्ट्रिय परीक्षा बोर्ड अहिले पूर्ण दबाबमा काम गरिरहेको छ। आन्दोलनका कारण उत्पन्न ढिलाइलाई क्षतिपूर्ति गर्न बोर्डले देशभरका केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षणलाई तीव्रता दिएको छ।


बोर्डका अनुसार मुलुकभरका ५० केन्द्रबाट पाँच लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण भइरहेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरमा एक/एक वटा परीक्षण केन्द्र सञ्चालनमा छन्। समय अभावका कारण विगतमा दैनिक १० हजार शिक्षक परीक्षणमा संलग्न हुने गरेकोमा यसपटक न्यूनतम १५ हजार शिक्षक परिचालित गरिएको छ।


परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार, यसपालि धेरै शिक्षकलाई परीक्षणपूर्व अभिमुखीकरणसमेत गराइएको छ। एक जना शिक्षकले दैनिक करिब १०० वटा उत्तरपुस्तिका परीक्षण गरिरहेका छन्। बोर्डको निर्देशन अनुसार केही जिल्लामा रातको समयमा समेत परीक्षण कार्य भइरहेको छ। भक्तपुर केन्द्रमा बिहान ४ बजेदेखि विद्यालय खुलेसम्म र साँझ पुनः विद्यालय बन्द भएपछि राति ११ बजेसम्म परीक्षण कार्य चलिरहेको छ।


"शिक्षकहरू दिनमा कक्षा लिनुपर्ने बाध्यता छ," डा. भट्टराईले बताए, "त्यसैले बिहान र बेलुकी अतिरिक्त समयमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। आन्दोलन नभएको भए यसबेला परीक्षण सकिइसक्थ्यो।"


यसबाहेक, अहिले उत्तरपुस्तिका परीक्षण भइरहेका सबै केन्द्रहरूबाट दैनिक प्रगति विवरण संकलन गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ। अधिकांश जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमार्फत परीक्षण कार्य भइरहेको छ। बोर्डका अनुसार अहिले सम्म औसतमा करिब ३० प्रतिशत परीक्षण सकिएको छ भने केही जिल्लामा यो संख्या ६० प्रतिशतसम्म पुगेको छ।


नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० देखि वैशाख १७ गतेसम्मको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा झन्डै एक महिनाको ढिलाइ गराएको हो। सरकार र शिक्षकबीच वैशाख १७ गते सहमति भएपछि केही केन्द्रमा वैशाख २० गतेबाट परीक्षण कार्य सुरु भएको हो।


परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने योजना बनाएको बोर्डले, सबै प्रक्रिया समयमै सुरु भएको भए असार ७ गते आसपासमा नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। यद्यपि, प्राविधिक जनशक्तिको अभावका कारण नतिजा प्रकाशन प्रक्रिया अझै चुनौतीपूर्ण हुने देखिएको बोर्डको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom