राजविराज नगरपालिका–७ घर भएकी ३९ वर्षीया मञ्जु राउतको पसलमा आइतबार साँझ आगलागी भएको छ। मञ्जुले पसलमा दियो बाल्ने क्रममा अचानक बोतलमा राखिएको पेट्रोल खनिएर आगो फैलिँदा पसल क्षणभरमै खरानी भएको हो।
आगो निभाउने प्रयास गर्दा मञ्जु घाइते भएकी छन्। उनका खुट्टाको केही भाग जलेको र उपचारका लागि अस्पतालमा राखिएको छ। आगलागीबाट पसलमा रहेका कटघरा, किराना सामान र बिक्रीका लागि राखिएको पेट्रोलका बोतल जलेर नष्ट हुँदा लाखौं रुपियाँको क्षति भएको मञ्जुले बताएकी छन्।
आगो फैलिँदा छिमेकी बलराम राउतको पसलमा पनि क्षति पुगेको छ।
यस्तै, सोमबार राति हनुमाननगर कंकालिनी–१४ मा स्थित इन्द्र मुखियाको किराना पसलमा पेट्रोल हालेर कुपी बाल्दा आगो लागेको छ। यसबाट करिब तीन लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै घटनामा अनुसन्धान सुरु गरेको छ।




