मिति २०८२ असोज २ गते साँझ करिब ६:४० बजे पोखरा–२५ हेम्जामा नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको सवारी साधनले करिब ५५ वर्षीय पुरुषलाई ठक्कर दिई घाइते बनाएर फरार भएको थियो । गम्भीर घाइतेलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार सवारी साधन र चालकको खोजतलासका क्रममा प्रहरीले आज (२०८२ कात्तिक ३ गते) पोखरा–१० रंगशाला गेट अगाडिबाट घटनामा संलग्न ग १ ज ७११० नम्बरको सुमो गाडी सहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने चालक जिल्ला पर्वत मोदी गाउँपालिका–१ भुकक्ताङ्ले निवासी र हाल पोखरा–१५ फुलवारी बस्ने २८ वर्षीय शुशिल सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार, चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको छ ।




