घटनापछि मृतक तामाङको शव अहिलेसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ। घटनास्थल चामेबाट करिब १० घण्टाको कठिन पैदल यात्रा दुरीमा पर्ने हुँदा उद्दारमा कठिनाइ भइरहेको बताइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली शव उद्दारका लागि पठाइएको छ। सो टोली हाल हुलाकी ओडार क्षेत्रमा पुगेको छ र त्यहाँबाट थप पाँच घण्टा हिँडेपछि मात्रै घटनास्थल पुग्न सकिने उनले जानकारी दिए।
अर्यालका अनुसार घटनास्थलको बाटो निकै जोखिमपूर्ण रहेकाले सुरक्षाकर्मीहरू डोरीको सहायताले यात्रा गरिरहेका छन्।
मनाङका उच्च लेक र खर्कहरूमा वैशाख दोस्रो साताबाट यार्सागुम्बा संकलन सुरु भएको छ। असार अन्त्यसम्म चल्ने यो सिजनका लागि जिल्लाको नासोँ गाउँपालिका अन्तर्गत नाम्ग्या लेकबाट संकलन प्रक्रिया सुरु गरिएको हो।
यसपटक सुरक्षा व्यवस्थालाई कडा बनाइएको भए पनि यस्तो दुर्भाग्यपूर्ण घटना हुन नदिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए। यार्सागुम्बा सङ्कलनका क्रममा चोरीडकैती तथा झैँझगडा नियन्त्रण गर्न व्यापक सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए।