फ्रिडाले अहिलेसम्म ७०० भन्दा बढी पटक सर्पको विष शरीरमा हालिसकेका छन् र २०० भन्दा बढीपटक स्वयंलाई सर्पले डसाएका छन्। तीमध्ये विश्वकै घातक सर्प मानिने ताइपेन, गोमन, करेत र माम्बा प्रजातिका विषहरू पनि समावेश छन्।
अनौठो अभ्यास, वैज्ञानिक उपलब्धिमा परिणत
सुरुमा सर्पप्रेमीका रूपमा युट्युबमा भिडिओ हाल्ने र शौखका लागि सर्प समात्ने फ्रिडाको उद्देश्य आत्म-सुरक्षाको क्षमता विकास गर्नु थियो। तर अब उनको रगतमा पाइने एन्टिबडी (antibodies) ले विभिन्न प्रजातिका सर्पको विषविरुद्ध काम गर्ने सम्भावना देखिएको छ।
वैज्ञानिकहरूको भनाइ अनुसार, यस अनुसन्धानले भविष्यमा एकीकृत एन्टिभेनम (universal antivenom) बनाउन सहयोग पुर्याउन सक्छ — जसले जातीय, प्रजातीय भिन्नता नहेरी सर्पदंशको उपचार गर्न सक्नेछ।
विश्वभर सर्पदंशले हुने क्षति
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, बर्सेनि १ लाख ४० हजारभन्दा बढी मानिसको सर्पदंशबाट मृत्यु हुन्छ। त्यसको तीन गुणा बढी मानिसले अङ्ग गुमाउन वा स्थायी अपाङ्गता झेल्नुपर्छ।
वर्तमान उपचार विधिमा सर्पको प्रजातिअनुसार भिन्न एन्टिभेनम चाहिने भएकाले उपचार जटिल र खर्चिलो हुन्छ। फ्रिडाको रगतमा विकास भएको प्रतिरक्षा प्रणालीले यस चुनौतीलाई सरल बनाउन सक्छ।
‘कोमा’सम्मको जोखिम: गम्भीर मोडबाट पुनरागमन
फ्रिडा सम्झन्छन्, सुरुमा दुई वटा गोमन सर्पले लगत्तै डस्दा उनी कोमामा पुगेका थिए। “त्यो मेरो सबैभन्दा ठूलो गल्ती थियो,” उनी भन्छन्। तर त्यही दुर्घटनाले उनलाई अझ सजग र वैज्ञानिक रूपमा सोच्न प्रेरित गर्यो।
फ्रिडा अब केवल युट्युबर होइनन्, एक 'मानवीय प्रयोगशाला' हुन् — जसको योगदानले लाखौंको जीवन सुरक्षित बनाउन सक्ने सम्भावना बोकेको छ। बिबिसी