![]() |
फोटो : अन्नपूर्ण पोष्ट |
जटियाही गाउँकी स्थायी बासिन्दा मुनेसा खातुनले १७ वर्षअघि आफ्ना चार छोराछोरीको एकैपटक जन्मदर्ता गराउन गएकी थिइन्। सबै प्रमाणपत्र लिएर गएकी मुनेसाले तत्कालीन पडरिया थारूटोल गाविस (हाल लहान नगरपालिका–१२)का सचिव लक्ष्मी घिमिरेसमक्ष निवेदन दिएकी थिइन्। सचिवले सबैको जन्मदर्ता एकै मितिमा गरे तर जेठो छोरा मोहम्मद ईशाकको जन्ममिति गलत रूपमा २०६६ पुस १५ लेखिएपछि उनीहरूको परिवार निरन्तर समस्यामा परेको छ।
ईशाकको वास्तविक जन्ममिति २०५६ पुस १५ भए पनि दस्तावेजमा १० वर्षपछि जन्मिएको देखिएको कारण उनलाई विद्यालय भर्ना, नागरिकता प्रमाणपत्र, रोजगार अनुमति, राहदानी लगायतका आधारभूत सेवाबाट वञ्चित हुनुपरेको छ। हाल उनी विवाहित छन् र एक छोराका पिता पनि, तर आफ्नो नागरिकता नहुँदा छोराको जन्मदर्ता समेत गराउन सकेका छैनन्।
उनकी आमा मुनेसाले विगतका वर्षहरूमा नगरपालिका, वडा कार्यालय, इलाका प्रशासन कार्यालय, विभिन्न नेताहरूको ढोका चहार्दा पनि कुनै निकास नपाएको गुनासो पोखिन्।
लहान नगरपालिका–१४ का वडासचिव पशुपति चौधरीले भने पुरानो जन्मदर्ता र प्रणालीका कारण समस्या समाधान गर्न नसकिने बताए। “त्यो बेलाको पञ्जीकरण अफिसरले गलत लेखेको हो। अहिले अनलाइन प्रणाली छ। हामी केही गर्न सक्दैनौँ,” चौधरीले भने। उनका अनुसार माथिल्लो निकायबाट निर्देशन आए मात्र त्रुटी सच्याउन सकिने अवस्था छ।
तर स्थानीय प्रशासनिक विधिका जानकारहरू भन्छन् – जन्मदर्तामा त्रुटी भएमा त्यसलाई बुझाइदिई आवश्यक कागजातसहित निवेदन दिएर वडा कार्यालयले सच्याउन सक्ने कानुनी व्यवस्था छ। तर झमेलाको डरले वडास्तरमै समस्या अड्किएको हो।