चितवन, वैशाख २८ – मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईनखोलामा आइतबार बिहान ट्रक पल्टिँदा सडक पूर्णरूपमा बन्द भएको छ।
चितवन प्रहरीले जनाएको अनुसार, कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ट्रक बिहान ७ बजे अनियन्त्रित भई पल्टिएको हो। ट्रक दुवैतर्फको लेनमा फैलिएका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।
दुर्घटनास्थल मुग्लिन बजारदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ पर्ने तुईनखोलामा रहेको हो। सडक खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ट्रक चालक सामान्य घाइते छन् र गम्भीर मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। ट्रक हटाई सडक यथाशीघ्र खुलाउने प्रयास भइरहेको छ।





