तनहुँ, जेठ १३ – तनहुँको व्यास नगरपालिका अन्तर्गत बुल्दीखोलामा निर्माणाधीन पक्की पुल गुणस्तरहीन पाएपछि भत्काइएको छ। व्यास नगरपालिका–१ विज्ञानचौर र वडा नम्बर ३ देउरालीनगर जोड्ने उक्त पुल पूर्वाधार विकास कार्यालय, दमौलीको निर्देशनमा पुनःनिर्माणका लागि भत्काइएको हो।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार प्राविधिक परीक्षणका क्रममा बिममाथिको ढलान गुणस्तरहीन देखिएको थियो। "निर्माण गुणस्तर मापदण्ड विपरीत भएकाले ठेकेदारलाई भत्काएर पुनःनिर्माण गर्न निर्देशन दिइएको हो," तिवारीले बताए।
पाँच करोड १० लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुलको ठेक्का सपना बेलु कन्स्ट्रक्सनले २०७७ सालमा लिएको थियो। २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि हालसम्म जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ। म्याद थप गर्दै निर्माणको समयसीमा २०८२ जेठ ४ सम्म लम्ब्याइएको छ।
निर्माणमा ढिलाइ हुनुमा विद्युत् ट्रान्सफर्मर स्थानान्तरणमा समस्या देखिएको र हाल त्यसलाई हटाउने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।


.jpg)


