काठमाडौँ, जेठ १३ – देशभर पछिल्लो एक महिनामा आगलागीका घटनाले ११ जनाको ज्यान लिएको छ भने करिब २४ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमध्ये ३ पुरुष, ५ महिला, २ बालक र १ बालिका छन्।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार वैशाख महिनामा मात्रै आगलागीका कारण ६७ जना घाइते भएका छन्। तीमध्ये २७ पुरुष, ३२ महिला र ८ बालबालिका छन्।
एक महिनामा ६३४ वटा आगलागीका घटना दर्ता भएका छन्। आगलागीका कारण १५१ घर, १०१ गोठ र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ भने १८९ पशुचौपायाको ज्यान गएको छ। ११० परिवार विस्थापित भएका छन्।
आगलागीका घटना सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा भएका छन्, जहाँ १४३ वटा घटना भएका छन्। त्यसपछि कोशी प्रदेशमा १३६, मधेश प्रदेशमा १०४, बागमतीमा ६४, काठमाडौं उपत्यकामा ३२, गण्डकीमा ५३, कर्णालीमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना दर्ता भएका छन्।
प्रवक्ता थापाले आगलागीबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि नागरिक स्तरमै सचेतना आवश्यक रहेको बताए। विज्ञहरूका अनुसार धेरैजसो आगलागीका घटना मानवीय लापरवाहीका कारण हुने गर्छन्।