प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आइतबार बजेट प्रस्तुत गर्नुभयो।
प्रस्तावित बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख रुपैयाँ अर्थात् ३० दशमलव ८८ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको छ भने २३ अर्ब ४७ करोड १४ लाख रुपैयाँ अर्थात् ६० दशमलव ३२ प्रतिशत पुँजीगत खर्चतर्फ छुट्याइएको छ। यसैगरी, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ अर्थात् ८ दशमलव ८० प्रतिशत विनियोजन गरिएको छ।
‘समृद्ध लुम्बिनी : खुसी नागरिक’ भन्ने दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषिमा लगानी गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्ने, उद्यमशिलता र दिगो पूर्वाधार विकासमा जोड दिने जनाएको छ।
बजेटमा सामाजिक न्यायसहित समावेशी विकासलाई प्रोत्साहन गर्ने, उत्पादनशील रोजगारी सिर्जना गर्ने र आर्थिक असमानता तथा गरिबी न्यूनीकरणमा योगदान पुर्याउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको मन्त्री कार्कीले बताउनुभयो।
उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्दै प्रदेशको समग्र आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्यका साथ बजेट तथा कार्यक्रम निर्माण गरिएको सरकारको भनाइ छ।