चितवनको राप्ती नगरपालिका–४, चौकी डाँडामा पारिवारिक विवादले दुःखद मोड लिँदा एक दम्पतीले भीरबाट हाम फालेका छन्। घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४७ वर्षीय लीलाबहादुर प्रजा र उनकी ४२ वर्षीया पत्नी कुमारी प्रजाबीच मंगलबार सामान्य भनाभनबाट सुरु भएको विवाद झगडामा परिणत भएको थियो। झगडापछि श्रीमती कुमारी "म मर्छु" भन्दै घरबाट निस्केकी थिइन् भने श्रीमान् पनि पछि–पछि लागेका थिए।
त्यसपछि दुवै जनाले राप्ती नगरपालिका–४ अन्तर्गत पर्ने खहरे खोलाको भीरबाट एकैसाथ हाम फालेका थिए। घटनास्थलमै कुमारीको ज्यान गएको पुष्टि चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालले गर्नुभएको छ।
श्रीमान् लीलाबहादुरको बायाँ कानबाट रगत बगिरहेको र काँधमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। हाल उहाँको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।