पोखरा, जेठ २२
विश्व वातावरण दिवसको अवसर पारेर पोखराको नयाँ गाउँस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयले विविध जनचेतनामूलक कार्यक्रम गरी वातावरणप्रति जनसचेतना फैलाउने कार्य गरेको छ। वातावरण संरक्षणका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयले टेबलो कार्यक्रम तथा पोखरा वृद्धाश्रममा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य सिस्टर जेसी सिजेले गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै उहाँले वातावरणीय समस्याहरू र त्यसको समाधानका उपायहरूमाथि प्रकाश पार्नुभयो। वातावरण र मानव जीवनको अन्योन्य सम्बन्धबारे उहाँले उल्लेख गर्दै विद्यार्थीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो।
विद्यालय अन्तर्गत क्रियाशील वातावरण क्लब र जेपीआइसी क्लबको संयुक्त आयोजनामा पोखरा महानगरपालिका भित्रका विभिन्न वडाहरूमा टेबलो कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयबाट सुरु भएको टेबलो यात्रा क्रमशः विभिन्न वडामा पुगेर पुनः विद्यालयमै समापन गरिएको थियो।
टेबलो कार्यक्रममा विद्यार्थीहरूले प्लेकार्ड, नाराहरू, नाटक तथा दृश्य प्रदर्शनमार्फत वातावरण संरक्षणको सन्देश प्रसारण गरेका थिए। सहभागी शिक्षक र विद्यार्थीहरूले वातावरणीय सचेतनाका विविध प्रस्तुति मार्फत स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेका थिए।
त्यसै अवसरमा विद्यालयले पोखरा १७ स्थित पोखरा वृद्धाश्रममा औषधि तथा प्राथमिक उपचार सामग्री वितरण पनि गरेको थियो। वितरण कार्यक्रम प्लस टु संयोजक सिस्टर लिलियन सिजेको संयोजनमा सम्पन्न भएको थियो। औषधि वितरणको बारेमा जानकारी दिँदै विद्यालयका शिक्षक सुमन अधिकारीले वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिनुभयो।
टेबलो कार्यक्रम विद्यालयका शिक्षक श्याम गुरुङ र रीभा आमत्यको संयोजनमा सम्पन्न भएको थियो।
विद्यालयद्वारा सञ्चालित यस्ता सामाजिक र वातावरणीय कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र नागरिक चेतना विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।