अघिल्लो वर्षको सोही अवधिमा जम्मा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र विप्रेषण भित्रिएको थियो। यस वर्षको वृद्धि दर उल्लेखनीय रहेको राष्ट्र बैंकको ‘आर्थिक तथा वित्तीय स्थिति समीक्षा प्रतिवेदन’ मा उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँको तुलनामा उच्च हो।
यसै अवधिमा शोधनान्तर स्थिति पनि मजबुत बनेको छ। हालसम्म शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा शोधनान्तर स्थिति ३ अर्ब २३ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ९४ करोड थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको पनि राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार नेपाल सरकारका विभिन्न खातामा रहेको यो रकम हालसम्मकै उल्लेखनीय मौज्दात हो।
विप्रेषण वृद्धिले विदेशी मुद्राको सञ्चितिमा समेत सकारात्मक प्रभाव परेको जनाइएको छ। रेमिट्यान्स आप्रवाहमा देखिएको यो वृद्धिलाई अर्थविद्हरूले अर्थतन्त्रमा स्थिरता ल्याउने मुख्य कारकका रूपमा समेत लिएका छन्।