लमजुङ, असार ७ । बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की दुई दिनको खोजीपछि मृत अवस्थामा फेला परेका छन्। बिहीबारदेखि सम्पर्कविहीन भएका सार्की शनिबार बिहान बेँसीसहर नगरपालिका–९ डम्पिङसाइट नजिकै झिङ्गेखोलाको धारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभयो।
सार्कीको शव खोलाको ढुङ्गाको चेपमा अड्किएको अवस्थामा भेटिएपछि प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्याएको थियो।
मृतकको सनाखत उनकी आमा मनमाया सार्कीले प्रदेश अस्पताल बेँसीसहरमा पुष्टि गर्नुभएको छ। हाल शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने हालसम्म कर्तव्य जस्तो देखिने कुनै संकेत फेला नपरेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण प्रष्टिने जानकारी दिइएको छ।