सशस्त्र प्रहरी बल (एपीएफ)का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो । सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो ।
गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर — हरदेव राजवंशी र सुरज साउद डुबेर वेपत्ता भएका थिए । दुवैजना दन्तकाली तालिम केन्द्र, बरमजिया अन्तर्गत कार्यरत थिए ।
हराइरहेका जवानहरूको खोजी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली घटनास्थलमा खटिएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार दोस्रो वेपत्ता जवान सुरज साउदको खोजी कार्य हाल पनि जारी रहेको छ ।