जेठ २३, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित कुभिण्डेमा स्कुटर ट्रकको पछाडि ठोक्किँदा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ८ बजे सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट पोखरतर्फ गइरहेको ट्रक (ना ४ ख ९३३१) र सोही दिशा हुँदै यात्रा गरिरहेकी स्कुटर (AAB ०२४३) आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
घटनामा पुतलीबजार नगरपालिका–१३ लाम्पाटाकी २४ वर्षीया जीत माया थापा स्कुटर चालकको रूपमा सवार थिइन्। ठक्करपछि उनी गम्भीर घाइते भइन् र उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पुर्याइएकोमा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए।
दुर्घटनापछि ट्रकसहित त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।