Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालो मोसो प्रहार


जेठ २९, वीरगन्ज । उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा. खुसीराम थारुमाथि बिहीबार इजलासमै कालो मसी प्रहार गरिएको छ।


आफूलाई नेकपा बहुमत पार्टीका कार्यकर्ता बताउने युवाहरूको समूहले इजलास कक्षभित्र जबरजस्ती प्रवेश गरी "भ्रष्टचारी मुर्दाबाद", "बहुमत पार्टी जिन्दाबाद" जस्ता नारासहित न्यायाधीश थारुलाई मसी छर्केको उच्च अदालतका रजिस्ट्रार दीपक भण्डारीले पुष्टि गर्नुभयो।


भण्डारीका अनुसार घटना लगत्तै सुरक्षाकर्मीहरूले संलग्न तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ। अहिले सुरक्षा निकायसँग थप छलफल भइरहेको जानकारी उहाँले दिनुभयो।


नकेही दिनअघि न्यायाधीश थारुको इजलासले इँटाभट्टामा मानिसलाई जिउँदै जलाएर हत्या गरिएको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिने फैसला सुनाएको थियो।


उक्त फैसलाको विरोधस्वरूप न्यायाधीशमाथि मसी प्रहार गरिएको जनाइएको छ। घटनामा संलग्न समूहले "जनताको विपक्षमा फैसला भएको" भन्दै पार्टीको निर्णयअनुसार कारबाही गरिएको दाबी गरेको प्रत्यक्षदर्शीले बताएका छन्।


घटनापछि नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अदालत परिसरमा भएको सुरक्षा कमजोरीको विषयमा समेत छलफल भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom