काठमाडौं, साउन १ — औषधिजन्य लागुऔषध लुकाएर डेराकोठाबाट बिक्री वितरण गर्दै आएका एक गिरोह प्रहरीको कारबाहीमा पर्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधि र गाँजासहित तीन जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यकाका दुई स्थानमा छापा मार्दा ३१,१०१ एम्पुल औषधिजन्य लागुऔषध र १२ किलो ५०० ग्राम गाँजा बरामद गरिएको हो।
बालाजुबाट गाँजा र ट्रामाडोल बरामद
काठमाडौं महानगरपालिका–१६, गंगाहल शान्तिमार्गस्थित डेराबाट बस्दै आएका मोरङ, बेलबारी नगरपालिका–३ का २६ वर्षीय निकु राईको कोठाबाट ट्रामाडोल क्याप्सुल ३५,५९० थान र १२.५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बल्खुबाट ३१ हजार एम्पुल लागुऔषध बरामद
त्यस्तै, बल्खुस्थित डेरामा बस्दै आएका कुंगा तामाङ र पदमबहादुर महतोको कोठामा गरिएको छापामा बुप्रेनोर्फिन, डाईजेपाम र फेनार्गन गरी १०,३६७/१०,३६७/१०,३६७ एम्पुल गरी जम्मा ३१,१०१ एम्पुल लागुऔषध बरामद गरिएको छ।
भाडाको कोठा भण्डारणस्थलको रूपमा प्रयोग
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाले डेराकोठाबाट अलग्गै कोठा भाडामा लिएर त्यहाँ लागुऔषध लुकाउने, भण्डारण गर्ने र वितरण गर्ने कार्य गर्दै आएका थिए। विशेष सुराकीका आधारमा निगरानीपछि उक्त कोठाहरूमा छापा मारिएको हो।
ब्यूरोको अपिल: घरधनी र स्थानीय सतर्क रहनुहोस्
लागुऔषध नियन्त्रण ब्यूरोले पछिल्लो समय डेरा, फ्ल्याट र घरहरूमा लागुऔषध लुकाएर कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै घरधनी, स्थानिय बासिन्दा तथा सरोकारवालाहरूलाई सतर्क रहन अपिल गरेको छ।
पक्राउ परेकामाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको छ।