Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प


साउन १ गते, काठमाडौँ — अमेरिकाको अलास्का राज्यमा बुधबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा सुनामीको चेतावनी दिइए पनि पछि खतराको सम्भावना नदेखिएपछि चेतावनी फिर्ता लिइएको हो।

भूकम्प स्थानीय समय अनुसार दिउँसो १२:३७ बजे (२०:३७ GMT) अलास्काको स्यान्ड पोइन्ट टापुबाट करिब ८७ किलोमिटर दक्षिणमा केन्द्रित रहेको अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) ले जनाएको छ। भूकम्पको गहिराइ जमिनको सतहबाट १२.५ माइल (करिब २० किलोमिटर) रहेको थियो।

भूकम्पपश्चात अलास्काको दक्षिणी तट र प्रायद्वीपमा सुनामीको चेतावनी जारी गरिएको थियो। तर, राष्ट्रिय सुनामी चेतावनी केन्द्र (NTWC) ले करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता गरेको जानकारी दिएको छ।

USGS का अनुसार प्रारम्भिक भूकम्पपछि १२ भन्दा बढी परकम्पहरू महसुस गरिएका छन्, तीमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको थियो।

स्यान्ड पोइन्ट क्षेत्रमा अधिकतम ६.१ सेन्टिमिटर (०.२ फिट) उचाइको सानो सुनामी मात्र देखिएको बताइएको छ।

NTWC ले स्थानीय बासिन्दालाई सुरक्षित भएको आधिकारिक जानकारी प्राप्त नभएसम्म तटीय उच्च जोखिमयुक्त क्षेत्रहरूमा नफर्कन अनुरोध गरेको छ।

अलास्का भूकम्पीय दृष्टिले संवेदनशील ‘प्रशान्त रिङ अफ फायर’ क्षेत्र अन्तर्गत पर्छ। सन् १९६४ मा त्यही क्षेत्रमा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जुन उत्तर अमेरिकी इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ। उक्त भूकम्पबाट आएको सुनामीले एन्कोरेज सहर ध्वस्त बनाएको थियो भने थुप्रै मानिसको मृत्यु र ४० करोड डलरभन्दा बढीको क्षति भएको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom