स्याङ्जा, साउन ८ गते।
स्याङ्जाको वालिङ नगरपालिका–८ मा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा ४९ वर्षीय मृतक खुमानन्द लामिछानेकी श्रीमती रञ्जिता लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। २०८० वैशाख २२ गते खुमानन्दको मृत्यु भएपछि अनुसन्धानका क्रममा श्रीमतीको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
अदालतबाट पक्राउ अनुमति लिएर वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले रञ्जितालाई वालिङमोडमा लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको र स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो।