मृत्यु हुनेमा सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङ रहेका छन्। उनले ना ५ ख ५६१६ नम्बरको ट्रक चलाउँदै आएका थिए। घटनाको पुष्टि गर्दै मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले ट्रक चालक दोङको टाउकोमा लाठी प्रहार गरिएको जानकारी दिनुभयो।
घटना बुधबार दिउँसो कटहरीस्थित इको पावर सोलुसन प्रा.लि. नामक उद्योग परिसरमा भएको हो। ट्रकमा पुराना टायर ल्याएर झार्ने क्रममा ट्रक चालक दोङ र को १ त ५०३३ नम्बरको ट्याक्टर चालक ३० वर्षीय दिपेश कामतबीच विवाद भएको थियो। ट्रकले बाटो अवरुद्ध गरेको भन्दै कामतले लाठी प्रहार गरेका थिए।
गम्भीर घाइते दोङलाई विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा टाउकाको शल्यक्रिया पनि गरिएको थियो तर बिहीबार दिउँसो ३:४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनालगत्तै फरार भएका ट्याक्टर चालक कामतलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी चिमरियाले जानकारी दिनुभयो।