सोमबार राति विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादवको उपचारको क्रममा मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।
उपचारका लागि विराटनगर जाने क्रममा जिल्लाको तिरहुत गाउँपालिका गोइठीका ६० वर्षीय जिवछ महात्मा र उनकी ५२ वर्षीया श्रीमती अनारदेवी यादव, जिल्लाकै महादेवा गाउँपालिका–६ का ३५ वर्षीय शङ्कर मण्डल र सुनसरीको कोशी गाउँपालिका ६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ ।
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर र काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस सोमबार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा यिनीहरूको उपचार क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा २८ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जनाको मृत्यु भएको छ भने २३ जनाको उपचार भइरहेको छ ।
तीन जनाको अवस्था सामान्य रहेकाले घर गइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै २० जना घाइतेको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।