स्याङ्जामा बोलेरो–जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । गल्याङबाट कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो–जिप आज बिहान कालीगण्डकी गाउँपालिका–७ मिर्मी आरुचौरमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेका अनुसार जिप सडकबाट झण्डै ३० मिटर तल खसेको छ । घाइते सबैलाई तत्काल उद्धार गरी कालीगण्डकी अस्पताल मिर्मीमा उपचार भइरहेको र गम्भीर अवस्थामा रहेका केहीलाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।