महानगरपालिकाले भदौ ८ र ९ गतेका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो। झाडापखाला र हैजाका बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएपछि सार्वजनिक स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय लिइएको महानगरले जनाएको छ।
यससँगै पानीपुरी, चाट, चटपटे लगायत खुला रूपमा बिक्री हुने खाद्यपदार्थको बिक्रीवितरणमा रोक लगाइएको छ। दूषित पानीमार्फत हैजाको जीवाणु फैलने जोखिम भएकाले यस्ता खाद्यपदार्थ तत्काल निषेध गरिएको हो।
शनिबार बिहान मेयर राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न आकस्मिक बैठकले हैजाको रोकथामका लागि स्वास्थ्यकर्मीहरूको २५ वटा टोली परिचालन गर्ने, हेल्प डेस्क तथा सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। मेयर सिंहले अस्पताल प्रतिनिधिहरूसँगको बैठकमा “झाडापखाला वा हैजाका बिरामीको उपचारमा गम्भीरताका साथ लाग्न” निर्देशन दिएका थिए।
महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म १७ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये तराई हस्पिटलमा ८, नारायणी अस्पतालमा ५, नेशनल मेडिकल कलेजमा ३ र अलि अर्थो सेन्टरमा १ जना छन्। सङ्क्रमितहरू मुख्यत: वडा नम्बर ११, १२, १३ र १४ का बासिन्दा रहेको उनले जानकारी दिए।
हाल वीरगन्जका विभिन्न अस्पतालमा २ सयभन्दा बढी झाडापखाला र हैजाका शंकास्पद बिरामी उपचाररत छन्। आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारी साधनहरू पनि स्ट्यान्डबाइमा राखिएको मेयर सिंहले जानकारी दिएका छन्।