साउन १८, नवलपुर।
नवलपुरमा आज बिहान भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत डण्डाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा पल्टिएको हो। दुर्घटनाका बेला बसमा करिब ३० जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका १५ जनामध्ये सामान्य घाइतेलाई मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई पुरानो मेडिकल कलेज, चितवन पठाइएको प्रहरीले जनाएको छ।
स्थानीय र प्रहरीका अनुसार नयाँ फराकिलो सडकमा तीव्र गति, लेन नहुनु र दायाँबायाँ मोड्नका लागि स्पष्ट सडक संकेत नहुँदा यहाँ दुर्घटना बढिरहेको देखिएको छ।





