भाद्र २४ गते नेपालको इतिहासमा अर्को एउटा कालो पाना थपिएको दिनका रूपमा अंकित भएको छ। शान्तिपूर्ण विरोधमा उत्रिएका निर्दोष विद्यार्थीहरूलाई राज्य संयन्त्रले जेरीकरण गर्ने शैलीमा निर्ममता प्रदर्शन गर्यो। आफ्ना हक अधिकारका लागि उठेका ती युवा आवाजहरूलाई गोली र लाठीले चुप पार्ने प्रयास मात्र नभई, उनीहरूको जीवनसमेत खोसिएको यथार्थले सम्पूर्ण समाजलाई स्तब्ध तुल्याएको छ।
राज्यको जिम्मेवारी जनताको जीवन, स्वतन्त्रता र अधिकारको रक्षा गर्नु हो। तर विडम्बना, यस आन्दोलनका क्रममा राज्य स्वयं हिंसाको मूल स्रोत बन्यो। निर्दोष विद्यार्थीहरूको रगतले सडक रन्किँदा, सत्ताको कुर्सीमा बसेकाहरूको मौनता र कठोरता नै अझ भयावह लाग्छ। यो केवल एउटा आन्दोलनमाथिको दमन होइन; यो आगामी पुस्तालाई दिएको चेतावनी हो– “स्वतन्त्र आवाज दमन गरिन्छ” भन्ने सन्देशसहित।
आन्दोलन दबाउन सरकारले सेना उतार्नुपर्ने अवस्था आयो, कर्फ्यू लगाउन बाध्य भयो। यसले आन्दोलनलाई दबाए पनि, युवाको आत्मालाई दबाउन सकेन। उल्टै, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन सरकारले बाध्य भएर प्रमाणित गर्यो—राजनीतिक सत्ता र दमनले केही क्षण दबाउन सकिए पनि परिवर्तनको आवाजलाई पूर्णतया रोकिन सक्दैन।
अब प्रश्न के उठ्छ भने, के यो घटना केवल अर्को ‘अनपेक्षित दुर्घटना’का रूपमा भुलाइने हो? कि यो नेपालमा नीतिगत क्रूरता र युवा पीडाप्रति उदासीनताको अन्तिम सीमा भएको प्रमाणका रूपमा लिइने हो? जबसम्म निष्पक्ष अनुसन्धान भई दोषीलाई कानूनी कारबाही हुँदैन, जबसम्म राजनीतिक नेतृत्वले आत्मालोचना गर्दै युवाप्रति सम्मान देखाउँदैन, तबसम्म यो घाउ अझै ठूलो हुन्छ। क्षमा त्यतिबेला सम्भव हुन्छ जब गल्ती स्वीकार गरेर न्यायको बाटो लिइन्छ। अहिलेको अवस्थामा क्षमाभन्दा बढी आवश्यकता सत्य उद्घाटन र संरचनागत सुधारको छ।
भाद्र २४ को जेन–जेड आन्दोलनले राष्ट्रलाई एउटा स्पष्ट सन्देश दिएको छ—युवापुस्ताले अब चुपचाप सहने छैनन्। उनीहरू लोकतन्त्रलाई केवल कागजको शब्द होइन, व्यवहारमा देख्न चाहन्छन्। उनीहरू रोजगार, अवसर, डिजिटल स्वतन्त्रता र पारदर्शितामाथि ग्यारेन्टी खोज्छन्। यदि राज्यले यो चेतावनीलाई सुनेन भने, अर्को पुस्ता अझ बलियो रूपमा सडकमा उत्रिनेछ। आज निर्दोष विद्यार्थीहरूको रगतले भिजेको सडक इतिहासको स्मरण मात्रै होइन, भविष्यप्रतिको चेतावनी पनि हो।
नेपालले न्याय र उत्तरदायित्वमा आधारित नयाँ अध्याय सुरु गर्ने हो भने, यो आन्दोलन र यसले दिएको बलिदानलाई स्मरण गर्दै संरचनागत सुधारतर्फ अघि बढ्नुपर्छ। रगतले भिजेको सडकलाई लोकतन्त्रको चिहान बनाउने कि न्याय र परिवर्तनको बीज रोप्ने भन्ने निर्णय अब राज्यको जिम्मामा छ।
युवाहरू राष्ट्रको मेरुदण्ड हुन्। उनीहरूको सपना, ऊर्जा र संघर्षलाई बलपूर्वक दमन गर्नु राष्ट्रकै भविष्यमाथि प्रहार गर्नु हो। भाद्र २४ को घटनाले यही सन्देश दिएको छ कि जबसम्म राज्य सत्ता र सुरक्षामुखी सोचको बन्दी रहिरहन्छ, तबसम्म प्रगतिशील आन्दोलनहरूमाथि यस्ता आक्रमण दोहोरिन्छन्।
अब आवश्यक छ–
-
निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाही गर्ने साहस।
-
मृतक विद्यार्थीहरूको बलिदानलाई स्मरण गर्दै शैक्षिक तथा सामाजिक सुधारका मार्गहरू खोल्ने दृढता।
-
राजनीतिक दल र नेतृत्वले युवाप्रति देखाएको उपेक्षा र बेवास्तालाई आत्मालोचनाको साहससहित सच्याउने प्रतिबद्धता।
जनता, विशेषतः युवा पुस्ताले क्षमाभन्दा परको पीडा अनुभव गरेका छन्। क्षमा तब सम्भव हुन्छ जब गल्ती स्वीकारिन्छ, जब न्यायको बाटो अपनाइन्छ। तर आजसम्म देखिएको क्रुरता र अहंकारले क्षमाको सम्भावना नै मारेको छ।
यसैकारण, भाद्र २४ को जेनजी आन्दोलन केवल दुःखद घटना होइन, यो भविष्यका लागि चेतावनी हो। न्याय, उत्तरदायित्व र मानवीय संवेदनशीलता बिना राज्यको अस्तित्व पनि निरर्थक हुन्छ।