![]() |
तस्विर: गोरखापत्र |
भदौ २४, तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा मङ्गलबार बिहान बस र म्याजिक जिप एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
डुम्रे बजारबाट नारायणगढतर्फ जाँदै गरेको ना.८ख ८४१३ नम्बरको बसले सोही दिशा हुँदै गइरहेको ना.१ज ८३२८ नम्बरको म्याजिक जिपलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइतेमध्ये बन्दीपुर गाउँपालिका–१ की ४५ वर्षीया रिता पोख्रेलको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ। यस्तै, गोरखा नगरपालिका–७ का ३२ वर्षीय सुवास कुमाल पनि घाइते भई सोही अस्पतालमा रिफर भएका छन्।
दुर्घटनापछि बस चालक सिन्धुपाल्चोकका राजु गिरी (३२) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। म्याजिक जिप र त्यसका चालक पनि प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो।