भदौ २० गते । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको घोटालामा संलग्न तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
एक हजार ५२६ जना बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उच्च अदालत नेपालगन्जको फैसला कार्यान्वयन टोलीले पक्राउ गरेका उनीहरूलाई अदालतको आदेशअनुसार सजाय कार्यान्वयनका लागि प्रस्तुत गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरका अनुसार अझै १० जना दोषी फरार छन् ।
बाँके जिल्ला अदालत र उच्च अदालत दुवैले दोषी ठहर गर्दै चौधरी र खटिकलाई पाँच–पाँच वर्ष कैद र ५०–५० हजार जरिवाना, महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला गरेका थिए । तर, सजाय भुक्तान गर्नुपर्ने क्रममा उनीहरू फरार भएका थिए ।
सहकारीमा ३७ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना हुँदा बचतकर्ताले अझै आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । पीडितले रकम नपाउँदासम्म न्याय नपाएको अनुभूति भइरहेको बताएका छन् ।
२०७६ असोज २८ गते दर्ता भएको मुद्दामा जिल्ला अदालतले २०८० पुस २६ गते १९ जनालाई दोषी ठहर गरेको थियो । सो फैसलालाई २०८२ जेठ १४ गते उच्च अदालतले पनि सदर गरेको थियो । सर्वोच्चमा जानसक्ने ३५ दिनको समयसीमा सकिएपछि प्रहरीले दोषीहरूलाई पक्राउ गर्न थालिएको हो ।




