पोखरा, कात्तिक १४ गते — कास्कीको वडा प्रहरी कार्यालय बैदाममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–७, घारीपाटन बस्ने २६ वर्षीय विवश जलारी हुन्। उनी गत भदौ २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट फरार भई प्रहरी कार्यालयमा समेत तोडफोड, आगजनी र सामान लुटपाट गरेको आरोपमा पक्राउ परेका हुन्।
प्रहरीले जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यनन कम्पनीको सोको डिजिटल क्यामेरा (१ थान) र नम्बर प्लेट नभएको, इन्जिन नम्बर JLYCJB77102 र च्यासिस नम्बर MD2436FY1JCB33360 भएको २०० सीसीको एन एस मोटरसाइकल (१ थान) सहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार, विवश जलारी पहिले नै ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका थिए। आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागार कार्यालय कास्कीबाट भागेर वडा प्रहरी कार्यालय बैदाममा पुगेका उनले त्यहाँ तोडफोड र लुटपाट गरेको खुलेको हो।
उनमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान जारी छ। कास्की जिल्ला अदालतबाट उनीमाथि थप अनुसन्धानका लागि ६ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।




