कात्तिक १४ गते, नवलपुर — गत भदौ २३ र २४ गते देशभर चलेको ‘जेनजी आन्दोलन’का क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३७ वर्षीय नरबहादुर विक, ३२ वर्षीय चुमबहादुर राना, ४२ वर्षीय मिनबहादुर थापा, ३८ वर्षीय अमरबहादुर कामी, १८ वर्षीय ईश्वर सिंह ठकुरी, १९ वर्षीय होमबहादुर थापा क्षेत्री र ३८ वर्षीय सोवालाल थापा रहेका छन्। यसबारे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आन्दोलनका क्रममा उनीहरूले हुप्सेकोट गाउँपालिका–१, बेलुवास्थित प्रहरी चौकीमा अनधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड र आगजनी गरेका थिए। प्रारम्भिक अनुसन्धानले उनीहरू उक्त क्षतिकारक घटनामा प्रत्यक्ष संलग्न रहेको देखाएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूमाथि आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। नवलपुर जिल्ला अदालतबाट उनीहरूलाई चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार जेनजी आन्दोलनका क्रममा नवलपुरमा ठूलो क्षति भएको थियो। उनका अनुसार आन्दोलनका क्रममा २० वटा निजी आवास, तीन पालिका र छ वडासहित नौ वटा स्थानीय तहका कार्यालय, १६ पार्टी कार्यालय, दुई प्रहरी चौकी र दुई व्यवसायिक भवनसहित कुल ५० वटा भवनमा तोडफोड र आगजनी गरिएको थियो।




