Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँको आँबुखैरेनीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना : एकको मृत्यु, १५ जना घाइते

कात्तिक ११ गते, तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा मंगलबार दुई अलग-अलग स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।


पहिलो दुर्घटना आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटस्थित सडकखण्डमा दिउँसो करिब १२ः२० बजे भएको हो। चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०९३७ नम्बरको यात्रुबाहक गाडी चालकले सवारी नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएर त्यहाँ रोकी राखिएको नेपाल विद्युत् प्राधिकरणको बा.१ ञ. १२८७ नम्बरको सवारीमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


गाडीमा लमजुङ बेँसीसहर नगरपालिका–८ का ४२ वर्षीय चालक ईश्वरकुमार श्रेष्ठसहित १४ जना सवार थिए। तीमध्ये लमजुङकै ५५ वर्षीया बुधमाया तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिनुभयो।


अन्य १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको र सबैलाई उपचारका लागि दमौली र आँबुखैरेनी अस्पतालमा पठाइएको डीएसपी विकले बताए। उनका अनुसार, “माइक्रो चालकले सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।” दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।


प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ। दुर्घटनाका कारण केही समय पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भए पनि पछि पुनः सञ्चालनमा आएको थियो।


यसैबीच, मंगलबार बिहान नै आँबुखैरेनी गाउँपालिका–१, सत्र सयस्थित राजमार्गमा अर्को दुर्घटना भएको थियो। डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ०२–०२१ प. १५३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बिएइ १६६८ नम्बरको स्कारपियोले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।


घाइतेहरूमा मोटरसाइकल चालक बारा सिमरा उपमहानगरपालिका–४ का २४ वर्षीय सरोज पराजुली र ४२ वर्षीय गोविन्द खनाल रहेका छन्। दुवै जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom