‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना नेतृत्वको समूहले आफ्नो मुख्य राजनीतिक एजेन्डा पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।
नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा ढुङ्गानाले “प्रत्यक्ष कार्यकारी शासकीय प्रणालीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने” विषयलाई आन्दोलनको बटमलाइन (मूल शर्त) भन्दै, ती दुवै माग पूरा नभएसम्म चुनावमा नजाने बताएका छन् ।
ढुङ्गानाले भने, “हामी भ्रष्टाचारविरुद्ध नागरिकस्तरीय छानबिन समिति गठन गर्न चाहन्छौँ । आर्थिक रूपान्तरणको स्पष्ट नीति बिना मुलुक अघि बढ्न सक्दैन ।” उनका अनुसार, ‘जेनजी’ प्रदर्शनलाई दीर्घकालीन दिशा दिने उद्देश्यले राजनीतिक दल गठन गर्ने निष्कर्षमा समूह पुगेको हो, तर पार्टीको नामबारे सुझाव संकलनको प्रक्रिया जारी छ ।
उनले थप भने , “भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र समृद्ध राष्ट्र निर्माणका लागि हामी निरन्तर लड्छौँ । जेनजीको बलिदान खेर जान दिँदैनौँ । देश विकासका लागि सामूहिक प्रतिबद्धता र सहकार्य अपरिहार्य छ।”
ढुङ्गानाले देशभित्र रोजगारीको अवसर नहुँदा लाखौँ युवा विदेशिन बाध्य भएको र उत्पादनशील शक्ति पलायन हुँदा मुलुक आर्थिक रूपमा कमजोर बनेको बताउँदै, सरकारले यसतर्फ जिम्मेवारीपूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले बन्द कलकारखाना पुनः सञ्चालन, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र छिमेकी मुलुकहरूको विशाल बजारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्ने सुझाव दिए ।




