संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८,१६७ मिटर) को आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका–१, धम्पुस लेक जाने क्रममा एक जर्मन पर्यटक र नेपाली गाइड शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा ३२ वर्षीय जर्मन नागरिक दामिनो डेल्फाप्लो र नेपाली गाइड मिमा रहेका छन् । दुवै जनासँग शुक्रबार राति साढे ९ बजेदेखि सम्पर्क हुन नसकेपछि खोजी कार्य प्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी डीएसपी छिरिङ किप्पा लामाले बताउनुभयो ।
“सम्पर्कविहीन भएपछि तत्काल खोजी सुरु गरिएको छ,” डीएसपी लामाले भन्नुभयो, “तर गाइडको मोबाइल समेत अफ भएकाले अवस्थाबारे यकिन जानकारी प्राप्त भएको छैन।”
सेभेन समिट ट्रेक्स कम्पनीमार्फत उनीहरू म्याग्दीको धौलागिरि पदमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका थिए । कम्पनीको अनुरोधमा हेली एभरेस्ट मार्फत हवाईमार्गबाट खोजीकार्य सुरु गरिएको छ । तर, हेलिकोप्टरबाट प्रारम्भिक खोजी गर्दा पनि उनीहरू भेटिएका छैनन्, र अब स्थलगत खोजी विस्तार गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
धौलागिरि वरिपरिको पदमार्ग साहसिक र जोखिमपूर्ण मानिन्छ, विशेषगरी हिउँ र प्रतिकूल मौसमका कारण यात्रा चुनौतीपूर्ण हुने बताइन्छ । यही कारणले विदेशी पदयात्रीहरू यस क्षेत्रलाई “एक्स्ट्रीम ट्रेकिङ जोन” का रूपमा लिने गरेका छन् ।




