बारा, मंसिर ३ गते।
बारा जिल्लामा एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचना सार्वजनिक भएपछि सिमरा विमानस्थल क्षेत्र आसपासमा युवाहरूले विरोध प्रदर्शन सुरु गरेका छन्। प्रदर्शन तीव्र बन्दै गएसँगै स्थानीय वातावरण एकाएक तनावग्रस्त बनेको छ।
प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच केही स्थानमा घर्षण र झडप समेत भएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रशासनले सुरक्षाको स्थिति गम्भीर बन्दै गएको ठहर गर्दै कडा कदम चाल्नु परेको हो।
जिल्ला प्रशासन कार्यालय बारा द्वारा जारी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको आदेशअनुसार आज बेलुका ८ बजेसम्म कर्फ्यू आदेश लागू गरिएको छ। आदेशमा सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन, उच्च पदाधिकारी तथा सार्वजनिक कार्यालयहरूको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू अनिवार्य भएको उल्लेख छ।
कर्फ्यू क्षेत्रअन्तर्गत गण्डक नहरदेखि पथलैया सडकको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्र समेटिएको प्रशासनले जनाएको छ।
सुरक्षा निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको र कर्फ्यू उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिइएको छ।





